অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

प्रमुख मृगौला रोगहरू

प्रमुख मृगौला रोगहरू

मृगौलाका रोगहरूलाई मुख्यतया दुई भागमा विभाजन गर्न सकिन्छः

  • औषधीबाट उपचार गर्ने सम्बन्धी रोग (मेडिकल) :
  • मृगौलाले काम नगर्ने र मुत्रप्रणालीको संक्रमण जस्ता रोग लाग्ने बिरामीहरूलाई मृगौला चिकित्सकहरूले उपचार गर्छन् । मृगौलाले काम गर्न छोड्ने समस्या भएका गम्भीर बिरामीहरूलाई डायलाइसिस र मृगौला प्रत्यारोपण जस्ता उपचार चाहिन्छ ।

  • शल्यक्रियाबाट उपचार गर्ने सम्बन्धी (सर्जिकल) :
  • मृगौलामा पत्थरी र मुत्रप्रणालीमा क्यान्सर जस्ता बिरामीहरूको उपचारका लागि शल्यक्रिया आवश्यक हुन्छ ।

  • नेफ्रोलोजिस्ट र युरोलोजिस्ट बीच के भिन्नता छ ?
  • मृगौलाका विशेषज्ञ चिकित्सकहरूलाई नेफ्रोलोजिस्ट भनिन्छ, जसले औषधीद्वारा उपचार गर्ने, डायलाइसिस गर्ने र मृगौलाको प्रत्यारोपण गर्ने व्यवस्था गर्दछन् । युरोलोजिस्टले भने शल्यक्रिया गरेर पत्थरी, फोका हटाउने, क्यान्सरको उपचार गर्ने जस्ता शल्यक्रिया गर्नुपर्ने रोगहरूको उपचार गर्छन् ।

मृगौलाका मुख्य रोगहरू
मेडिकल रोग सर्जिकल रोग
मृगौलाले अचानक काम,गर्न छोड्नु,मृगौलाको दीर्घरोग,मुत्रप्रणालीको संक्रमणको, नेफ्रोटिक सिन्ड्रोम, आदि । मुत्रनलीमा पत्थरी,मुत्रथैली र प्रोस्टेटका समस्याहरू, मुत्रनलीमा जन्मैदेखिको समस्या,क्यान्सर, आदि

मृगौला विफल हुनु (किड्नी फेल्योर)

शरीरका लागि हानिकारक पदार्थ छान्ने र फाल्ने तथा इलेक्ट्रोलाइटको सन्तुलन कायम गर्ने मृगौलाको क्षमतामा उल्लेखनीय ह्रास आउनुलाई मृगौलाले काम गर्न नसकेको वा किड्नी फेल्योर भनिन्छ । रगतमा क्रिएटिनिन र ब्लड युरियाको मात्रा बढी हुँदा प्राय मृगौलाले काम गर्न छोडेको हुन्छ । मृगौलाले काम गर्न नसकेको अवस्था प्राय दुई प्रकारका हुन्छन्ः मृगौलाले अचानक काम नगर्ने र मृगौलाको दीर्घ रोग (दीर्घकालीन रुपमा मृगौलाले काम नगर्ने) ।

मृगौलाले अचानक काम गर्न छोड्नु (एक्युट किड्नी इन्जुरी)

मृगौलाको काम गर्ने क्षमतामा अचानक कमी आउनु वा ह्रास हुनुलाई एक्युट किड्नी इन्जुरी भनिन्छ । यस्तो समस्याका अधिकांश रोगीहरूको पिसाबको मात्रा कम हुन्छ । झाडापखाला, धेरै बान्ता, औलो, रक्तचाप घट्नु, सेप्सिस र केही खास औषधीहरू यसका महत्वपूर्ण कारण हुन् । सही उपचार भएमा प्राय मृगौलाले पुन काम गर्न थाल्ने हुन्छ ।

मृगौलाको दीर्घरोग (क्रोनिक किड्नी डिजिज)

कैयौँ महिनादेखि वर्षौँसम्म क्रमशः, निरन्तर र पुरानो स्वस्थ अवस्थामा नफर्कने गरी मृगौलाले काम नगर्ने समस्यालाई मृगौलाको दीर्घरोग (क्रोनिक किड्नी डिजिज) भनिन्छ । यस्तो दीर्घरोगमा मृगौलाको काम गराई मन्द गतिमा तर निरन्तर रुपमा कम हुँदै जान्छ । लामो समयावधि पछि यो, त्यो अवस्थामा पुग्छ, जहाँबाट मृगौलाले पूर्णरुपमा काम गर्न छोड्छ । त्यो अत्यन्त जटिल तथा ज्यान नै जोखिममा पर्न सक्ने मृगौला

रोगको अवस्थालाई इन्ड स्टेज किड्नी डिजिज वा सी.के.डी. स्टेज ५ भनिन्छ । मृगौलाको दीर्घरोग एउटा सुसुप्त रहने रोग हो र प्राय यो रोग भएको थाहा नै पाइँदैन । यो रोगको प्रारम्भिक चरणमा संकेत र लक्षणहरू अत्यन्त कम हुन्छन् या त हुदैनन् । यसमा हुने आम लक्षणहरू भनेको बान्ता हुनु, सुन्निनु, उच्च रक्तचाप आदि हुन् । मृगौलाका दीर्घरोग हुनु पछाडिका दुईवटा सबैभन्दा महत्वपूर्ण कारण भनेको मधुमेह र उच्च रक्तचाप हो । हाम्रो देशमा भने पिसाबबाट प्रोटिन जाने रोग (ग्लोमेरुलोनेफ्राईटिस) पनि यसको प्रमुख कारण मध्ये एक हो । रक्त परीक्षण गर्दा क्रिएटिनिन र युरियाको मात्राबाट मृगौलाको कार्यक्षमता बारे थाहा हुन्छ । मृगौला धेरै खराब भएको छ भने रगतमा क्रिएटिनिन र युरियाको मात्रा बढ्न थाल्छ ।

यो रोगको प्रारम्भिक चरणमा बिरामीलाई सही औषधी र आहार सम्बन्धी जानकारी आवश्यक हुन्छ । यस रोगलाई निको पार्ने कुनै खास उपचार हुँदैन । के कुरा बुझ्नु जरुरी हुन्छ भने उमेर बढ्दै जाँदा मृगौलाको कार्यक्षमता पनि कमजोर हुन्छ । मधुमेह र उच्च रक्तचाप जस्ता समस्यालाई नियन्त्रण गर्न सकिएन भने उमेरसँगै मृगौलाको कार्यक्षमतामा पनि तीव्र गतिमा ह्रास हुन्छ ।

मृगौला धेरै खराब भयो भने अर्थात् क्रिएटिनिन ८ देखि १० मिलिग्राम प्रति डेसिलिटिर भन्दा बढी भयो भने या त मृगौला रोगको अन्तिम अवस्थाको लक्षणहरू देखिन थाल्यो भने औषधी र खानपानमा सुधार ल्याउँदा पनि बिरामीको अवस्थामा खासै सुधार आउँदैन । यस्तो अवस्थामा उपचारका दुईवटा विधि डायलाइसिस वा मृगौला प्रत्यारोपण गरिन्छ ।

मृगौलाले काम गर्न छोडेपछि शरीरमा सञ्चित बढी भएको शरीरका लागि हानिकारक पदार्थ र तरल पदार्थलाई बाहिर फाल्ने गरिने छान्ने प्रक्रिया नै डायलाइसिस हो । डायलाइसिसले दीर्घरोगीलाई निको पार्दैन । दीर्घरोगको अन्तिम अवस्थामा बिरामीलाई नियमित रुपमा डायलाइसिस गराई रहनु पर्ने हुन्छ । डायलाइसिसका दुईवटा विधि हुन्छन् । हेमोडायलाइसिस डायलाइसिसको सबैभन्दा बढी प्रयोग हुने विधि हो । हेमोडायलाइसिसमा विशेष मेसिनको सहयोगबाट शरीरलाई हानि गर्ने पदार्थ, बढी भएको तरल पदार्थ र नुनलाई बाहिर फालिन्छ । कन्टिन्युअस एम्बुलेटरी पेरिटोनियल डायलाइसिस यसको अर्को विधि हो जुन मेसिनको मद्दत बिनै घर वा कार्यालयमा गर्न सकिन्छ । मृगौला प्रत्यारोपण सबैभन्दा राम्रो उपचार विकल्प हो र अन्तिम अवस्थाको मृगौला रोगका लागि यो एकमात्र निको पार्ने उपचार विधि हो ।

मुत्रप्रणाली संक्रमण

पोल्ने वा निरन्तर पिसाब लागिरहने, पेटको तल्लो भागमा दुख्ने र ज्वरो आउने समस्या मुत्रप्रणाली संक्रमणको एउटा आम लक्षण हो । पिसाब परीक्षणबाट पिसाबमा पिप देखिए त्यसले मुत्रप्रणाली संक्रमण भएको संकेत गर्न सक्छ ।

मुत्रप्रणालीमा संक्रमण हुने अधिकांश बिरामीहरू उपयुक्त एन्टिबायोटिकको प्रयोगबाट राम्रो हुन्छन् । बालबालिकाहरूमा हुने संक्रमणमा भने विशेष ध्यान दिनुपर्छ । मुत्रप्रणालीमा हुने संक्रमणको उपचारमा ढिलाइ भयो वा अपर्याप्त भयो भने बालबालिकाको हुर्कंदो मृगौलालाई त्यसले नराम्रो क्षति पु¥याउँछ ।

नेफ्रोटिक सिन्ड्रोम

नेफ्रोटिक सिन्ड्रोममा देहायका कुराहरू पर्दछन्ः खुट्टा सुन्निने, अत्यधिक प्रोटिनुरिया (पिसाबमा प्रतिदिन ३ ग्राम भन्दा बढी प्रोटिन), हाइपोएल्बुमिनेमिया (रगतमा एल्बुमिन कमी) तथा रगतमा बढी कोलेस्टेरोल । नेफ्रोटिक सिन्ड्रोम मृगौलाको धेरै किसिमको रोगले गर्दा हुने हुनाले यसको कारण÷प्रकारको चाँडै पहिचान गर्न आवश्यक हुन्छ । उपचार पछि निको भएका केही विरामीको रोग बल्झीन पनि सक्छ भने, कसै कसैलाई लामो समयसम्म उपचार गर्नु पर्ने हुन्छ । नेफ्रोटिक सिन्ड्रोम भएका बालबालिकाको उपचार गरेको अवस्थामा दीर्घकालीन परिणाम राम्रो हुन्छ । उनीहरू सामान्य मृगौलाका साथ स्वस्थ जीवन बाच्न सक्छन ।

मृगौलाको पत्थरी

मृगौलाको पत्थरी एउटा महत्वपूर्ण मृगौला रोग हो । मृगौला, मुत्रवाहिनी नली र मुत्रथैलीमा पत्थरी देखिन सक्छ । मृगौलामा हुने पत्थरीको सामान्य लक्षण भनेको असह्य दुखाइ, वाकवाकी लाग्नु, बान्ता हुनु र पिसाबमा रगत देखिनु आदि हुन् । तर मृगौलाको पत्थरी भएको केही मानिसहरूमा लामो समयसम्म पनि कुनै लक्षण नदेखिन सक्छ, यसलाई साइलेन्ट स्टोन पनि भनिन्छ । पत्थरीको निदानका लागि पेटको एक्सरे र अल्ट्रासाउन्ड गरिन्छन् अधिकांशतः साना आकारका पत्थरीहरू प्रशस्त तरल पदार्थ पियो भने पिसाबसँगै निस्किन्छन् । पत्थरीले अत्यधिक दुखायो भने, संक्रमण गरायो भने, मुत्रनलीमा अवरोध सिर्जना ग¥यो भने वा मृगौलालाई क्षति गरायो भने यसलाई निकाल्नु आवश्यक हुन्छ । पत्थरी निकाल्ने उपयुक्त उपाय पत्थरीको आकार, बसेको ठाउँ र प्रकारमा निर्भर हुन्छ । पत्थरी उपचार गर्ने विधि भनेको लिथोट्रिप्सी, इन्डोस्कोपी (पी.सी.एन.एल., साइटोस्कोपी र युरेटोस्कोपी) तथा शल्यक्रिया हुन् । पत्थरी पुनः हुने सम्भावना ५० देखि ८० प्रतिशत हुने भएकाले बढी झोल पदार्थ खानु, आहारलाई नियन्त्रण गर्नु र समय समयमा परीक्षण गर्नु आवश्यक हुन्छ ।

बिनाइन प्रोस्टेटिक हाइपरप्लेजिया (बी.पी.एच.)

प्रोस्टेट ग्लान्ड पुरुषहरूमा मात्र हुन्छ । यो मुत्रथैली भन्दा ठीक मुनि हुन्छ र यसले मुत्रनलीको (युरेथ्रा) प्रारम्भिक भागलाई घेरेको हुन्छ । प्रोस्टेट ग्लान्ड ५० वर्ष उमेर पुगेपछि बढ्न थाल्छ । बढेको प्रोस्टेट ग्लान्डले मुत्रनलीलाई च्याप्छ र खासगरी वृद्ध पुरुषहरूलाई यसले पिसाब फेर्नमा समस्या सिर्जना गराउँछ । बी.पी.एच. डाक्टरले जाँचेर र भीडियो एक्सरे गरेर निदान गरिन्छ । यी विरामीहरूको रक्तचाप सामान्य वा बढी रहन सक्छ । त्यसै गरी रगतमा क्रियटिनीनको मात्रा पनि सामान्य या बढी हुन सक्छ । बिनाइन प्रोस्टेटिक हाइपरप्लेजियाको मुख्य लक्षण भनेको बढी पिसाब लाग्नु (विशेष गरी राति) र पिसाब गरिसके पछि पिसाब चुहिनु हो । बिनाइन प्रोस्टेटिक हाइपरप्लेसियाको हल्कादेखि सामान्य लक्षण देखिएका धेरै बिरामीहरूलाई औषधोपचारबाट लामो समयसम्म प्रभावकारी रुपमा उपचार गर्न सकिन्छ । कडा लक्षण देखिएका र ठूलो प्रोस्टेट भएका धेरै बिरामीहरूलाई इन्डोस्कोपीबाट प्रोस्टेट ग्लान्ड हटाउनुपर्ने (तास्नु पर्ने – यो विधिलाई टि.यु.आर.पी. भनिन्छ) हुन्छ

स्रोत : Kidney Education Foundation

Last Modified : 10/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate