অসমীয়া   বাংলা   बोड़ो   डोगरी   ગુજરાતી   ಕನ್ನಡ   كأشُر   कोंकणी   संथाली   মনিপুরি   नेपाली   ଓରିୟା   ਪੰਜਾਬੀ   संस्कृत   தமிழ்  తెలుగు   ردو

मृगौला रोगका लक्षणहरू

मृगौला रोगको लक्षणको कुरा गर्दा, सबै भन्दा बुझ्नु पर्ने कुरा चाँहि के हो भने – मृगौला रोगको कुनै लक्षण नहुन सक्छ । तसर्थ मृगौला रोगको लागि परीक्षण गर्नु जरुरी छ । मृगौलाका रोगका लक्षणहरू व्यक्ति व्यक्तिमा फरक पर्छन् । खास रोगको प्रकार र त्यसको अवस्थामा धेरै कुरा निर्भर गर्छ । लक्षणहरू प्राय अस्पष्ट हुन्छन् त्यसैले प्रारम्भिक चरणमा निदान गर्न गाह्रो हुन्छ ।

तल लेखिएका प्रमुख लक्षण मृगौला रोगमा देखिन सक्छन्

अनुहार सुन्निनु

अनुहार, पेट र खुट्टा सुन्निनु मृगौला रोगमा प्राय देखिने लक्षण हुन् । मृगौला रोगले गर्दा सुन्निएको कुरा सबैभन्दा पहिले प्राय आँखा मुनि देखिन्छ र यो बिहान सबैभन्दा प्रस्ट देखिन्छ । मृगौलाले काम गर्न छोड्नु सुन्निनुको एउटा महत्वपूर्ण कारण हो । तर के कुरा ध्यानमा राख्नु पर्छ भने सुन्निदैमा मृगौलाले काम गर्न छोड्ने चाँहि होइन । केही खास मृगौला रोगमा, मृगौलाले सामान्य रुपमा काम गर्दा पनि सुन्निने समस्या हुन्छ । उत्तिकै महत्वपूर्ण कुरा, केही बिरामीहरूमा मृगौलाले काम गर्न छोड्यो भने पनि सुन्निने समस्या नदेखिन सक्छ ।

अरुचि हुनु, वाकवाकी लाग्नु, उल्टी हुनु

अरुचि हुनु, मुखमा असामान्य स्वाद आउनु मृगौलाले काम गर्न छोडेको व्यक्तिले भोग्ने आम समस्या हो । मृगौलाले काम कम गर्न थाल्यो भने शरीरमा विषालु पदार्थको वृद्धि हुन्छ, जसले गर्दा वाकवाकी लाग्ने र उल्टी आउने समस्या हुन्छ ।

उच्च रक्तचाप

मृगौलाको समस्या भएका बिरामीहरूमा धेरै जसो उच्च रक्तचापको समस्या हुन्छ । कम उमेर (३० वर्षभन्दा कम)मा उच्च रक्तचाप भयो र निदान भएको समयमा रक्तचाप अत्यधिक बढी छ भने, त्यो मृगौला रोगका कारण हुन सक्छ । सबै उच्च रक्तचाप भएको मानिसको पिसाब तथा रगतको परीक्षण गरी मृगौलामा केही असर छ छैन भनेर हेर्न अत्यन्त जरुरी हुन्छ ।

रक्तअल्पता र कमजोरी

कमजोरी हुनु, चाँडै थाक्नु र मन लगाएर कुनै काम गर्न नसक्नु रक्तअल्पता हुने व्यक्तिको आम गुनासा हुन् । कतिपय अवस्थामा मृगौलाका दीर्घरोगीहरूका लागि यो एकमात्र लक्षण हुन सक्छ । सामान्य उपचारबाट रक्तअल्पतामा सुधार भएन भने मृगौला रोगबारे जाँच गर्नुुपर्छ ।

अन्य लक्षणहरू

ढाडको तल्लो भाग दुख्ने, शरीर दुख्ने, चिलाउने र खुट्टा बाउँडिनु मृगौला रोगको लक्षण हुन सक्छन् । शरीरको विकासमा कमी र खुट्टा बाङ्गीने समस्या, मृगौलाले काम नगर्ने समस्या भएका बालबालिकाका लागि आम समस्या हुन्

पिसाब सम्बन्धी समस्या

पिसाब सम्बन्धी आम समस्या निम्न किसिमका हुन्छन्ः

  • धेरै खाले मृगौला रोगहरूमा पिसाबको मात्रामा कमी हुन सक्दछ ।
  • पिसाब पोल्ने, पिसाब लागिरहने र पिसाबबाट रगत र पिप निस्किने समस्या मुत्रनलीमा भएको संक्रमणका लक्षण हुन् ।
  • पिसाब फेर्न कठिनाई हुनु या त पिसाबको धारा सानो हुनु मुत्रप्रणालीको खराबीले हुन्छ ।
  • कुनै मानिसमा माथि उल्लेख गरिएका केही लक्षण र संकेत देखिए भने चिकित्सकसँग परामर्श लिई रगत, पिसाब वा अन्य परीक्षण गराएर मृगौला रोग वा अन्य कुनै रोग लागेको छ छैन भन्ने कुरा स्पष्ट हुनु आवश्यक हुन्छ । गम्भीर मृगौलाको रोग, लामो समयसम्म पनि कुनै लक्षण वा संकेत बिनानै पनि हुन सक्छ भन्ने कुरा बुझ्नु पनि आवश्यक हुन्छ ।

स्रोत : Kidney Education Foundation

Last Modified : 10/23/2019



© C–DAC.All content appearing on the vikaspedia portal is through collaborative effort of vikaspedia and its partners.We encourage you to use and share the content in a respectful and fair manner. Please leave all source links intact and adhere to applicable copyright and intellectual property guidelines and laws.
English to Hindi Transliterate