होम / ऊर्जा / पर्यावरण / वृक्षरोपण र जमीन पुनर्स्थापना
सेयर
Views
  • State: Open for Edit

वृक्षरोपण र जमीन पुनर्स्थापना

यस भागमा वृक्षरोपण र जमीन पुनर्स्थापना जानकारी दिइएको छ ।

एउटा स्वस्थ्य समुदाय मुख्यतयाः सफा पानी, उब्जाउ माटो र त्यहाँको रुख विरुवा दिन सक्ने र संरक्षण गर्न सक्ने स्रोतमा निर्भर हुन्छ । स्वस्थ्य समुदाय बनाइराख्नको निम्ति, बिग्रिएको जमीनको पुनर्स्थापना र दिगो प्रयोग गर्न जान्न अत्यन्त जरुरी छ । जमीन बिग्रेको, रुख काटिएको र हावा र पानीद्वारा भूक्षय गएको खण्डमा जमीन पुनर्स्थापना गर्न स्वस्थ र उब्जाउ बनाउने कैयौं उपायहरू छन् ।

भूक्षयबाट जोगाउने तरीका

हावा र पानीलाई भूक्षय जानको मुख्य कारण मान्न सकिन्छ । मुख्यतयाः पहाडी भागको माटोलाई भूक्षय जानबाट जोगाउनु भनेको नै त्यहाँको जमीनको उर्वरा शक्तिलाई बढाउनु र पानीका स्रोतहरूलाई जोगाउनु हो ।

भूक्षयबाट जोगाउन र जमीन माथिबाट बग्ने पानीको बहाव घटाउन किसानहरूले सामान्यतया तीनवटा नियम पालना गरेको पाईन्छ ।

१. माथिबाट तल बग्ने पानीको बहाव कम गर्नको निम्ति प्राकृतिक संरचनाहरू बनाउने ।

२. एकै ठाउँबाट बग्ने पानीलाई नहरहरू बनाई विभाजन गरी निश्चित ठाउँमा पु¥याउने ।

३. माटोमा जमीनमाथि बग्ने पानीलाई सोस्ने क्षमता बढाउने ।

कहिलेकाहीं यसको लक्षण पत्ता लगाउन गाह्रो हुन्छ । खासगरी यसको लक्षण भनेको जमीनको उत्पादन शक्ति कम हुनु, खोलाको पानी धमिलिनु र जमीनमा माटो पातलिंदै जानु हो ।

जुन ठाउँमा भूक्षय जान शुरु भएको छैन त्यो ठाउँलाई जतिसक्दो रुख, बिरुवा रोपेर र जमीन माथि बग्ने पानीलाई नहर र कुलोको सहायताले एउटा निश्चित ठाउँमा (खोला, ताल आदि) पु¥याउने हो भने भूक्षय जानबाट जोगाउन सकिन्छ । भूक्षय गइसकेको अवस्थामा पनि रोक्न र जमीन पुनर्स्थापना गर्न सकिन्छ । पहाडी भागमा अथवा भिरालो ठाउँमा ढुङ्गाका पंक्ति वा ढुङ्गाकै सानो पर्खाल निर्माण गरेर माटोलाई बग्नबाट जोगाउन र उर्बर बनाउन सकिन्छ । दिगो कृषि प्रणाली जस्तैः हरियो मल, चर्केबाली परिक्रमा र बालीसँग रुख रोप्नु माटो र पानीको स्रोत जोगाउने केही तरीकाहरू हुन् (अध्याय १५) ।

जमीन पुनर्स्थापना

कहिलेकाहिं जमीन यसरी बिग्रन सक्छ जसले गर्दा यसको पुनर्स्थापना नै नहुने हो कि जस्तो पनि लाग्न सक्छ । यदि कुनै ठाउँमा उब्जाऊ जमीन मरुभूमिमा परिणत भएको छ वा कुनै विषालु रसायनिक पदार्थले माटाको उब्जाऊ शक्ति कम गरेको छ भने त्यस्ता जमीनहरू पुनर्स्थापना हुन सयौं वर्ष पनि लाग्न सक्दछ । कतिपय ठाउँमा ध्यान दिएर काम गरेमा पृथ्वी आफैले पनि जमीनलाई पुनर्स्थापना गरी सामान्य रूपमा ल्याउन सक्छ

जबर्जस्ती जमीनलाई कसैले पनि उर्बर बनाउन सक्दैन । रसायनिक मलको प्रयोगले पनि केही समयलाई मात्रै काम दिन्छ, त्यसपछि यसको प्रयोगले पनि जमीनको उब्जाऊ शक्ति घट्दै जान्छ । तर यदि प्राकृतिक चक्रलाई ध्यान दिने हो भने हामीले यस्तो अवस्था पैदा गर्न सक्छौं जसले जमीन आफै पुनर्स्थापना र स्वस्थ हुनसक्छ

प्राकृतिक अनुक्रम

कहिलेकाहीं जमीनलाई त्यसै छोडिदिनु वा स–साना कुराहरू पुनः प्राप्त गर्न मद्दत गर्नु नै जमीन पुनर्स्थापना गर्ने उत्तम उपाय हो । जमीनको वरिपरि बार वा पर्खाल बनाउनु वा सूचनामा “यहाँ नपस्न” भनी लेखेर राख्नु वा चरीचरण गर्ने गाईबस्तुको संख्या घटाउनुले पनि जमीन पुनर्स्थापना गर्न मद्दत गराउँछ । जब जमीनलाई प्रयोग गर्नबाट संरक्षण गरिन्छ र जीवन पलाउने सही अवस्था हुन्छ, त्यहाँ बोटबिरुवा प्राकृतिक क्रममा आउँछन् यसलाई प्राकृतिक अनुक्रम भनिन्छ । यो प्रक्रियाले धेरै वर्ष वा कयौं पुस्ता लिने गर्छ ।

प्राकृतिक अनुक्रमले जमीन पुनर्स्थापना गर्दैन जबः

  • नजिकै बीउका स्रोत वा रैथाने बिरुवा हुँदैनन् ।
  • चाँडै फैलिने बिरुवाहरूले चाहेका बिरुवाहरूलाई ढाकिदिन्छन् ।
  • जमीन केही नउम्रने गरी मासिएको वा दूषित भएको अवस्थामा हुन्छ (तेलको चुहावटपछि जमीन पुनर्स्थापनाको कथाको लागि पृष्ठ ५२०) ।

रैथाने र गैर रैथाने बिरुवा र रुखहरू

रैथाने बिरुवा (स्थानीय बिरुवा) त्यस ठाउँको स्थानीय अवस्थामा सजिलै उम्रन सक्छ । यिनीहरूले रैथाने कीरा, चराचुरुङ्गी र जनावरहरूलाई आकर्षित गरेर र बासस्थान प्रदान गरेर प्राकृतिक विविधतालाई जोगाउने पनि गर्छन् । कहिलेकाहीं स्थानीय क्षेत्रमा गैररैथाने बिरुवाहरू पनि प्रख्यात हुने गर्छन् किनभने यी रुखहरू चाँडै उम्रन्छन् राम्रो काठ दाउरा उत्पादन गर्छन् र माटोलाई राम्रो बनाउन मद्दत गर्छन् । केही रुखहरू जस्तैः मसलाका रुख, सल्ला, पलास, नीम आदि विश्वभर रोपिएको छ । तर तपाईको ठाउँमा रोपिएको गैर रैथाने रुख बिरुवाहरूले समस्याहरू पनि निम्त्याउन सक्छ । यिनीहरूको जमीनमुनिको पानी अत्यधिक प्रयोग गर्न सक्छन्, बाली र रैथाने रुखहरूसँग पानी र माटोमा हुने पौष्टिकताको लागि प्रतिस्पर्धा गर्न सक्छन्, तपाईले चाहेको भन्दा धेरै ठाउँमा फिँजिएर उम्रन सक्छन् अथवा त्यहाँका रैथाने जनावर र कीराहरूलाई बस्नको लागि अरु ठाउँ खोज्नुपर्ने अवस्था बनाउन सक्छ । जब गैर रैथाने बिरुवाहरूले ठाउँ ओगट्न थाल्छन् तब प्राकृतिक अनुक्रमबाट जमीन पुनर्स्थापना गर्न मुस्किल हुन्छ

वृक्षरोपण

ठीक समयमा वृक्षरोपण गरिएमा यसले जमीन पुनर्स्थापना गर्नको साथै मानिस र जनावरहरूलाई खाना, औषधिको साथै काठ, दाउरा आदि पनि उपलब्ध गराउन सक्छ । वृक्षरोपणले बाँझो जमीनलाई पनि फेरि उर्बर र उब्जाऊ बनाउन सक्छ । तर कठिन परिस्थितिमा रोपिएको रुखहरूलाई हुर्काउन निकै मेहनत र ध्यान दिनुपर्छ । वृक्षरोपणको कयौं फाइदाहरू छन् तर यो सबै ठाउँ र समुदायको निम्ति ठीक हुँदैन (पृष्ठ १९१ मा हेर्नुहोस् जहाँ दिएको कार्यले रुख रोप्ने वा नरोप्ने कुरा छुट्ट्याउन मद्दत गर्दछ) रुख रोप्ने धेरै तरीकाहरू छन् :

  • बीउ वा काटिएको हाँगा जमीनमा रोप्ने (पृष्ठ २०७ मा हेर्नुहोस्) ।
  • जंगली बिरुवाहरू जम्मा गर्ने र सार्ने (पृष्ठ २०८ मा हेर्नुहोस्) ।
  • नर्सरीमा रुखका बिरुवाहरू उमार्ने र पछि जमीनमा सार्ने (पृष्ठ २०९ हेर्नुहोस्) ।
  • ग्राफ्ट एउटा रुखको जरालाई अरु कुनै रुखको हाँगासँग लगेर जोडेर रुख उमार्ने तरीका (ग्राफ्ट मुख्यतयाः फलफूलको रुखमा प्रयोग गरिन्छ, यस पुस्तकमा ग्राफ्टको भागलाई समेटिएको छैन) । तपाईले प्रयोग गर्ने तरीका कुन रुख उमार्ने वा कुन बीउहरू उपलब्ध छ त्यसमा भरपर्छ ।

बीउको छनौट र रोप्नको लागि रुखको हा“गा तयारी

धेरै मानिसहरूको भनाई छ “जस्तो आमाबाबु त्यस्तै छोराछोरी” जसरी अग्लो आमाबाबुको सन्तान पनि अग्लै हुन्छन्, त्यसै गरी जुन सिधा छ वा जुन रुख औषधि उत्पादन गर्न महत्वपूर्ण छ भने त्यसको बिरुवा पनि त्यस्तै हुन्छ । आफूलाई चाहे जस्तो विशेषता खोज्न स्वस्थ र राम्रो रुखको बीउ वा हाँगा काट्नु सबैभन्दा राम्रो हो । यदि तपाईले आफ्नो ठाउँबाट बीउ जम्मा गर्न सक्नु भएन भने नजिकैको व्यापारी, नर्सरी वा बगैंचाबाट पनि ल्याउन सक्नुहुन्छ ।

रोप्नको लागि बीउको तयारी

धेरैजसो कमलो बोक्रो र भित्र रस भएका बीउहरू जम्म गरेर तुरुन्तै रोप्न पर्छ भने कुनै बीउहरू केही महिनासम्म राखेर रोप्न पनि सकिन्छ (बीउ भण्डारण गर्ने जानकारीको लािग पृष्ठ ३०३ हेर्नुहोस्) । धेरैजसो बीउ उम्रिनको लागि पानीको जरुरत पर्छ । यदि बीउ कडा र बाक्लो बोक्रा भएको छ भने पानी सोस्नको लागि नरम र कमलो बनाउन जरुरी छ । कुनै बीउहरूलाई रोप्न अगाडि धेरै ध्यान दिन जरुरी छ

  • यदि बीउको बोक्रा धेरै कडा (तपाईले औंलाले प्वाल पार्न वा फुटाउन मिल्ने) र धेरै बाक्लो छैन भने सिधैं चिसो माटोमा रोप्न सकिन्छ ।
  • यदि बोक्रा पातलो तर कडा छ भने त्यसलाई कपडामा बेरेर पानी सोस्नको लागि १ मिनेटसम्म तातो तर नउम्लेको (८० डि.से.) पानीमा राख्ने त्यसपछि तातो पानीबाट झिकेर रातभरको लागि चिसो पानीमा राख्ने र अर्को दिन रोप्ने ।
  • यस्तै कडा बोक्रा भएको बीउहरूको लागि अर्को उपाय भनेको १ दिनभरी चिसो पानीमा राख्ने र त्यसलाई अर्को २४ घण्टा भिजेको बोरामा वा अरु कपडामा राख्ने । यो प्रक्रिया ६ दिनसम्म दोहो¥याउने र सातौं दिनमा बीउलाई रोप्ने ।
  • यदि बीउको बोक्रा कडा र बाक्लो छ भने त्यसलाई ढुङ्गाको टुक्रामा कमलो भाग नदेखिएसम्म रगड्न सकिन्छ । ध्यान दिनुपर्ने कुरा के छ भने बीउलाई धेरै गहिरो र बिग्रिने गरी घोट्नु वा रगड्नु हुँदैन ।
  • यदि बोक्रा कमलो तर बाक्लो छ भने त्यसलाई चक्कुको मद्दतले बिस्तारै तास्ने तर जति थोरै काट्यो त्यत्तिनै राम्रो ।
  • कुनै कडा बोक्रा भएको बीउको लागि राम्रो उपाय भनेको पानी र गाईको गोबरमा रातभरी भिजाउने हो । त्यसरी भिजाइएका बीउलाई १ दिनभरी घाममा सुकाउने । यो प्रक्रिया ३–४ दिनसम्म दोहो¥याउने । राम्रो बीउहरू उम्रन थाल्छ र रोप्नको लागि तयार हुन्छ । नउम्रेका बीउलाई चाहिं फ्याँकिदिने वा छुट्टयाउने ।

कुनै बीउहरूलाई अझै गाह्रो तरीका पनि अपनाउनु पर्ने हुन्छ जस्तैः मसिनो आगोमा तताउनु चिसो बनाउने आदि । सबैभन्दा उत्तम उपायको लागि अनुसन्धान जरुरी छ । धेरै कोशिसपछि तपाईको रुखको बीउ राख्ने, जम्मा गर्ने र रोप्नलाई पोख्त हुनुसक्नुहुनेछ

रोप्नको लागि रुखको हा“गा तयार गर्ने

कुनै रुख रोप्ने उत्तम तरीका भनेको त्यसको हाँगा काटेर माटोमा रोप्ने र जरा र पातहरू नपलाएसम्म पानी हाली राख्ने । यसरी रोपेको रुखबाट बीउ रोपेर उम्रेको रुखले भन्दा चाँडो फल र फूल दिने गर्दछ । कुनै हाँगाहरू सिधै माटोमा रोप्न सकिन्छ भने कुनैलाई नर्सरीमा राखेर प्रशस्त पात र जरा आउने बेलासम्म ध्यान दिनुपर्छ । यस्ता हाँगाहरू लिँदा प्रायः हाँगाको बीचमा काट्नुपर्छ जुन धेरै दह्रो र बाँगिएको नहोस् । हाँगा छान्दा ६ दे खि १० वटा आँख्ला (पात उम्रने ठाउँ) भएको हाँगा छान्नुपर्छ । बिस्तारै पातहरूलाई निकाल्ने र त्यसलाई छड्के तरीकाले काट्ने । यस्ता हाँगाहरू सिधै जमीनमा रोपिएको होस् वा नर्सरीमा यसलाई चाहिंदो पानी दिनु जरुरी छ । त्यसैगरी यसलाई कीराहरूबाट बचाउन पनि जरुरी छ जबसम्म यसबाट जराहरू उम्रेर आफैं पानीको स्रोत खोज्न सक्दैनन् ।

जंगली बिरुवा सार्ने

जंगल बनाउने अर्को उपाय भनेको जंगली बिरुवाहरूलाई उखेलेर आफूले चाहेको ठाउँमा सार्ने हो । स्वस्थ रुखलाई खोजेर त्यसको वरिपरि उम्रेको बिरुवालाई छान्ने । लामो र मुख्य जरालाई नबिगारिकन, सानो बिरुवा उखाल्ने । यो जरा बिग्रियो भने रुख राम्रोसँग उम्रन सक्दैन । बिरुवा उखाल्दा, बिरुवाको वरिपरि गोलाकारमा खन्ने । खन्दा जति गहिरो मुख्य जरा फैलिएको छ त्यत्ति खन्ने र बिरुवालाई हात वा अन्य साधनको सहायताले निकाल्ने । यसो गर्दा जराको माटो नहल्लियोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । जमीनमा नरोपिएसम्म जराको वरिपरि भएको माटोलाई चिसो राख्ने र जमीनमा रोपेपछि पनि लगातार पानी दिन जरुरी हुन्छ ताकि बिरुवामा जराहरू पलाओस् ।

नर्सरीमा रुख उमार्ने

नर्सरीहरूले रोप्ने रुखबिरुवा अरु ठाउँमा सार्न पहिले स्वस्थ शुरुवात दिने गर्दछ । तर नर्सरी बनाउन र सञ्चालन धेरै काम गर्नुपर्छ । नर्सरीमा रुखको बिरुवा रोप्ने मुख्य औचित्य भनेकोः

  • जुन रुखको बिरुवा वा बीउ बजारमा सजिलै पाइँदैन ।
  • कीरा आदिले कलिलो रुखको बिरुवालाई नाश गरेमा ।
  • यदि मानिसहरूसँग नर्सरी चलाउन र ध्यान दिन प्रशस्त समय भएमा ।

नर्सरीमा बिरुवा रोपेर पछि सार्नु भन्दा सिधै रुखलाई चाहेको ठाउँमा रोप्न अझै सजिलो हुन्छ । तर कतिपय बिरुवाहरू नर्सरीमा हुर्काएर सरेको भन्दा सिधै सार्दा मर्ने गर्छन्

रुखका बिरुवा सार्ने समय

र्षको कुन समयमा रुख रोप्ने भन्ने कुरा बिरुवालाई नर्सरीमा राख्ने समयमा भरपर्छ । यदि तपाई बस्ने क्षेत्रमा दुवै सुख्खा र पानी पर्ने मौसम छ भने वर्षायामको ठीक अगाडि रुख रोप्नाले बिरुवामा धेरै पानी हाल्न जरुरत पर्दैन । धेरैजसो रुखहरूलाई जमीनमा सार्न अगाडि २ देखि ४ महिना नर्सरीमा राख्नुपर्छ ।

नर्सरी राख्दा चाहेको समयमा सजिलै पहुँचमा हुनुपर्छ । साथै बिरुवालाई उम्रन र सार्न लाग्ने समयमा सजिलै उपलब्ध हुने ठाउँमा राख्नुपर्छ । यसैगरी नर्सरीमा काम गर्ने व्यक्तिहरूलाई पनि सुलभ हुने ठाउँमा राख्नुपर्छ । हरेक नर्सरीमा तल लेखिएका कुराहरू अनिवार्य हुनुपर्छ :

भा“डोमा बिरुवा उमार्ने

भाँडोमा बिरुवा उमार्दा एउटा ठाउँबाट अर्कोमा सार्न र रोप्न सजिलो हुन्छ । यस्ता भाँडाहरू आवश्यकता अनुसार गहिरो र फराकिलो हुनुपर्छ ताकि जराहरू एक झुण्ड भएर पलाउन सकोस् । यदि भाँडाहरू ठूला भएमा भारी र धेरै पानीको आवश्यकता पर्ने गर्छ । बिरुवालाई नर्सरीमा जति धेरै समय राखिन्छ त्यत्तिनै ठूलो भाँडाको जरुरत पनि पर्छ । रुख रोप्नलाई भाँडाको उपयुक्त आकार भनेको माथिल्लो भाग ६ ईन्च फराकिलो र ९ ईन्च गहिरो माटो भरेपछि सिधा राख्नलाई भाँडो बलियो हुनुपर्छ साथै यसमा बढी भएको पानी बाहिर निस्किनको लागि सानो प्वाल हुनु जरुरी हुन्छ । कलिला बिरुवाहरूलाई धेरै घामबाट जोगाउनु पर्छ । यस्ता बिरुवाहरू छायाँमा घामको तापले हुर्कन सक्छन् ।

बिरुवा रोप्नको लागि माटो

बिरुवा रोप्नको लागि खुकुलो किसिमको माटो चाहिन्छ ताकि बिरुवाको जराहरू नकुहियोस् । रुख राम्रोसँग हुर्कनको लागि माटोमा उपयुक्त पौष्टिकता हुनु जरुरी छ (पृष्ठ २८२ हेर्नुहोस्) । जंगलबाट ल्याइएको माटो वा नदीबाट ल्याइएको माटो कलिलो बिरुवाहरूको लागि उपयुक्त हुन्छ ।

रुखका बिरुवालाई पानी दिने तरीका

रुखका बिरुवाहरूलाई पानी दिनु नर्सरीमा सबैभन्दा महत्वपूर्ण कार्य हो । पानी हाल्दा एकै ठाउँमा मात्र खनाउनु हुँदैन किनभने यसले माटो बगाउने सम्भावना धेरै हुन्छ । त्यसैले पानी हाल्दा वर्षाको पानी जसरी सबैतिर छर्केर हाल्नुपर्छ । बिरुवालाई चाहिने पानी यसको जरा कति गहिरो भएर पलाएको छ त्यसमा भरपर्छ बिरुवाको पातहरू झर्नासाथ पानी हाल्नुपर्छ । तर सबैभन्दा राम्रो यो अवस्थासम्म पुग्न नदिनु हो । जबसम्म बिरुवामा २–३ वटा पात हुन्छन्, माटो सुख्खा देखेपछि पानी हाल्नुपर्छ । जब बिरुवामा ५–६ वटा पात हुन्छन् बुढी औंलाको लम्बाईसम्म माटो सुख्खा भएपछि पानी हाल्ने । जब जराहरू भाँडाको पिँधसम्म पुग्छ त्यसपछि बुढी औंलाको आधा गहिराइको माटो सुख्खा भएपछि पानी हाल्नुपर्छ ।

गोडमेल र मलजल

घाँस र झारपातले बिरुवाहरूसँग घाम, पानी र आहारको लागि प्रतिस्पर्धा गर्छन् । थोरै झारपातले खासै हानी पु¥याउँदैन । तर धेरै छन् भने त्यसलाई जरामा नै काटिदिनुपर्छ ताकि माटोलाई केही नहोस् । यदि तपाईहरूको माटो उर्वरा छ भने बिरुवाले आफूलाई चाहिने पौष्टिक तत्व त्यसैबाट प्राप्त गर्छ । यदि मल चाहिएमा कम्पोष्ट वा गाईवस्तु र रुख बिरुवाबाट प्राकृतिक मल बनाउनुहोस् ।

बिरुवा सार्ने तरीका

करिब ३–४ महिनापछि जब बिरुवाको जराहरू भाँडाको पिँधसम्म पुग्छन् तब बिरुवा सार्ने बेला भएको हुन्छ । यदि यो समयमा बिरुवा सार्न सक्नुहुन्न भने जराहरूलाई हप्ताको एक पटक काँटछाँट गरेर राख्नुपर्छ । यसो गर्नाले जराहरू एक झुण्ड भएर पलाउँछन् । बिरुवा सार्नु एक महिना अगाडि बिरुवालाई छाँयाबाट निकालेर घाममा राख्नुपर्छ ताकि यसले जुन ठाउँमा सार्ने त्यो ठाउँ जत्तिकै घाम पाओस् र त्यहाँको अवस्था अनुसार आफूलाई ढाल्न सकोस् । बिरुवा रोप्न एक दिन अगाडि पानी हाल्नुपर्छ ताकि भाँडो चिसो भइरहोस् । जरालाई हानी नहुने गरी बिरुवालाई सार्नुपर्छ । बिरुवा रोप्न आफूले चाहेको ठाउँमा चिन्ह लगाउनुहोस् । एउटा रुखदेखि अर्को रुखसम्मको दूरी रुखको किसिम र रोप्नको कारणमा भरपर्छ । सामान्यतयाः पछि एउटा रुखको हाँगाले अर्को रुखको हाँगा छुने गरेर रोप्नुपर्छ । रोप्ने ठाउँको १ मिटर वरिपरिको झारपातहरू निकाल्नुपर्छ ताकि यसले पानी, घाम आदिको लागि बिरुवासँगै प्रतिस्पर्धा नगरोस् । रुखलाई घामबाट बचाउनको लागि प्रायः बिहान र साँझतिर बिरुवा सार्नुपर्छ । रोप्दा जरालाई हानी पुयाउनु वा सुख्खा बनाउनु हुँदैन

कलिलो बिरुवाको स्याहार

रुखलाई पहिलो वर्षदेखि नै जोगाउनु पर्छ । धेरै वृक्षरोपण योजना असफल हुन्छ किनभने कलिलो रुखहरूको स्याहार गरिंदैन । यदि मौसम तातो र सुख्खा छ भने बिरुवालाई शुरुमा दिनको एक पटक र पछि हरेक २–३ दिनमा पानी हाल्नुपर्छ । केही हप्तापछि रुखका जराहरू आफैले पानी खोज्छन् । तर मौसम अझै तातो र सुख्खा भएमा रुखलाई चाहे जति पानी दिनुपर्छ । जबसम्म रुख वरिपरिका झारपात भन्दा अग्ला हुँदैनन् तबसम्म यस्ता झारपातलाई काटिदिनुहोस् । यदि जनावर वा बच्चाहरूले कलिला रुखहरूलाई नोक्सान पु¥याउन सक्छन् भने रुखको वरिपरि बार आदि बनाउन सकिन्छ । यदि रुख राम्रोसँग नहुर्किएमा वा पातहरू पहेंलो भएमा वा अस्वस्थ भएमा रुखको हाँगाहरू फैलिए जतिमा प्राकृतिक मल राख्नुपर्छ भन्ने कुरा बुझ्न मद्दत गर्छ ।

जलमार्ग र सिमसारको पुनर्स्थापना

खोलानाला र सिमसार (कुनै पनि क्षेत्र जहाँ जमीन सधैं चिसो वा पानी जमिरहन्छ) को किनारमा उम्रने बोटबिरुवा र रुखहरूले जलाधारमा धेरै महत्वपूर्ण काम गर्छन् । यिनीहरूले बाढी नियन्त्रण, पानीको सफाई र जमीन माथि बग्ने पानीलाई जमीन मुनि लान मद्दत गर्छ । साथै यिनीहरूले विभिन्न जनावर र बोटबिरुवालाई घर पनि प्रदान गर्छ ।

शहर र नगरमा बाढी नियन्त्रण गर्न र वरिपरि निर्माण कार्य सजिलो गर्न खोला र नहरहरूलाई सिधा बनाउने गरिन्छ । तर खोला नहरहरू जति सिधा हुन्छ त्यत्ति नै छिटो यसमा पानी बग्ने गर्छ । जब पानीको बहाब बढ्छ नदी किनारमा र बगरहरूमा अझ धेरै भूक्षय निम्त्याउँछ र यसले बाढी पहिरो जाने सम्भावना पनि बढ्छ । बाढीले ठूला ढुङ्गा र काठका ठूटाहरूलाई बगाएर ल्याउने गर्छ, त्यसैले सुख्खा मौसममा पनि नदीले बाढी ल्याउने वा नल्याउने कुरा नदीमा भएको ढुङ्गा र काठका ठूटाहरूले बताउने गर्छ । यदि सुख्खा मौसममा बिस्तारै बग्ने वा थोरै गहिराई भएको नदीमा ठूला ढुङ्गा छन् भने वर्षायाममा यदी ढुङ्गाहरूलाई बगाएर ठूलो बाढी आउने संकेत हुनसक्छ

बिरुवाको जीवन पुनर्स्थापना

पानी बग्ने ठाउँको नजिकै उम्रेका बिरुवाहरूले वर्षाको पानीलाई बिस्तारै फैलिन र जमीन मुनि जान मद्दत गर्छ र यसले त्यस ठाउँको माटोलाई समात्ने काम गर्छ

नदी र खोलाको किनारमा भूक्षय रोक्ने एउटा तरीका भनेको किनारमा रुख, बिरुवा रोप्नु हो । पानी बग्ने ठाउँको २० देखि ५० मिटर चौडाईसम्म रुख, बिरुवा रोप्नाले अक्सर भूक्षय कम हुने गर्छ । चिसो जरा हुने रुखहरूलाई सजिलै काटेर सार्न पनि सकिन्छ । दुई वा दुईभन्दा बढी पंक्तिमा यस्ता रुखहरू सार्ने र दुई पंक्तिको बीचमा हाँगाहरूलाई चाङ्ग लगाएर राख्ने । यसले माटोलाई बाँधेर वा समातेर राख्छ जसले गर्दा अरु बिरुवा वा जनावरलाई त्यस ठाउँमा फर्कने अवस्था सिर्जना गर्छ ।

एकपटक नदी र खोलाको छेउहरू स्थिर भएपछि त्यस ठाउँमा रुख साना बिरुवा र घाँसहरू उम्रने गर्छन् । यदि उम्रेन भने तपाई आफैलाई रोप्न मन लाग्न पनि सक्छ । यदि सम्भव भए रुखहरू पूर्ण रूपले नबढेसम्म मानिसहरूलाई काठ जम्मा गर्न र जनावरहरूबाट बजाउनको लागि त्यस ठाउँलाई घेरेर राख्न पनि सकिन्छ ।

स्रोत : हिस्पेरियन स्वास्थ्य निर्देशिका

3.25
तपाई आफ्नो सुझाउ दिन सक्नुहुन्छ

यहाँ लेखिएका सामग्रीसम्बन्धी तपाईँको केही सुझाउ छन् भने यहाँ लेख्न सक्नुहुन्छ

Enter the word
Back to top